काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकारसम्बन्धी समितिले उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका होल्डिङ सेन्टरहरूको प्रत्यक्ष अवलोकन गर्ने निर्णय गरेको छ ।
समितिको हालै बसेको बैठकले विस्थापित भई अस्थायी आवासमा बसिरहेका सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाको मानव अधिकार अवस्था प्रत्यक्ष रूपमा अध्ययन गर्ने निष्कर्ष निकालेको हो । यसका लागि सम्बन्धित स्थानमा पुगेर वस्तुगत जानकारी संकलन गर्ने कार्यतालिका बनाइने बताइएको छ ।
बैठकका क्रममा सांसदहरूले प्रभावित समूहको वर्तमान अवस्था नजिकबाट मूल्यांकन गर्न आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले आवास, आधारभूत सेवा तथा अधिकारसम्बन्धी पक्षहरूको वास्तविक स्थिति बुझ्न स्थलमै पुगेर अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
सोही छलफलका आधारमा समितिले उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यसहित स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।


