नेपाल न्युज प्वाइन्ट डटकम
ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, बरु पेसागत स्वतन्त्रता बलियो बनाउँछ : प्रधानमन्त्री शाह

काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरुको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरुको अधिकार र पेसागत स्वतन्त्रता नै झन बलियो बन्ने बताएका हुन् ।  

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आमजनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन् ।  विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो । वर्षौंदेखि धेरै सङ्गठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यताभन्दा पहुँच, क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट राजनीति हटाउने कुरा सङ्गठन बनाउन नसकेर नभई शिक्षाको गुणस्तर सुधार्न र कर्मचारीको सम्मान जोगाउनका लागि भएको पनि स्पष्ट गरेका छन् । प्रधानमन्त्री शाहले सरुवा र बढुवाको आधार दलगत निकटता नभएर विधि, क्षमता र दक्षता बन्नुपर्ने पनि बताएका छन् ।

उनले सरकारको यो कदम कुनै पार्टीविरुद्धको लडाइँ नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट गरेका छन् । प्रधानमन्त्री शाहले भनेका छन्, ‘शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत सङ्क्रमणबाट मुक्त गर्ने यो प्रयास हो । त्यसैले तपाइँहरुकै चाहनाअनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौँ ।’ 

यस कार्यमा सरकारले सबैको साथ र विश्वासको अपेक्षा गरेको पनि बताए । उनले भने, ‘तपाइँको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाइँहरुकै जनचाहनाबमोजिम काम गर्न सरकारमा आएका हौँ । तपाइँहरु ढुक्क हुनुहोस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं ।’ 

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update