काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ । धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न पाइने अदालतले स्पष्ट पारेको छ ।
गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
अदालतले अनुसन्धानका क्रममा पहिले धरौटी वा जमानत माग्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै सो प्रक्रिया नअपनाई हिरासतमा राख्न अनुमति लिइएको भन्दै उक्त प्रक्रिया नै खारेज गरिदिएको छ ।
सर्वोच्चका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०४(१) ले अनुसन्धान अधिकारीलाई आवश्यक धरौटी वा जमानत माग्न अधिकार दिएको छ । तर सो प्रावधान पालना नगरी गोल्छालाई थुनामा राखिएको ठहर गर्दै वैशाख ११ र २१ गते काठमाडौं जिल्ला अदालतबाट लिइएको म्याद अनुमति समेत बदर गरिएको छ ।


