नेपाल न्युज प्वाइन्ट डटकम
लिपुलेक हुँदै मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई कूटनीतिक पत्र

काठमाडौं : नेपाली भूभाग लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राप्रति नेपाल सरकारले औपचारिक आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको छ ।

आइतबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त विषयमा सञ्चारमाध्यम तथा सरोकारवालाबाट उठेका प्रश्नप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै नेपालको स्पष्ट धारणा पुनः भारत र चीनसमक्ष प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्व पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको विषयमा सरकार स्पष्ट र अडिग रहेको छ । यही आधारमा उक्त क्षेत्र हुँदै सञ्चालन गर्न लागिएको भनिएको तीर्थयात्राप्रति नेपालले आफ्नो असहमति कूटनीतिक माध्यमबाट व्यक्त गरेको हो ।

यसअघि पनि नेपालले भारत सरकारलाई सो क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापार तथा तीर्थयात्रा लगायतका गतिविधि नगर्न आग्रह गर्दै आएको मन्त्रालयले जनाएको छ । साथै, लिपुलेक क्षेत्र नेपालको भूभाग भएको विषय चीन सरकारलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले ऐतिहासिक सन्धि, प्रमाण, नक्सा र तथ्यका आधारमा नेपाल–भारत सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू सधैं प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

11-1777821061.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update