काठमाडौं : काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सडक किनारा मिचेर बनाइएको धोविखोला देवीनगरस्थित सात तले घरमा डोजर चलाएको छ ।
नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आइतबार उक्त घरमा डोजर चलाएको हो । सात तले घरको पाँच तल्लासम्म डोजरले केही भाग भत्काएको छ । घरको अगाडि भागले सार्वजनिक जग्गा मिचेको भन्दै डोजरले अगाडि भाग भत्काएको हो ।
महानगरले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा धोबीखोलामा नदी किनारमा नदी र सडक मापदण्ड मिचेर निर्माण गरेका संरचनामा डोजर लगाउन सुरु गरेको थियो ।
सोही क्रममा देवीनगरमा रहेका सात तल्ले पक्की घरमा डोजर लगाइएको हो । यसअघि महानगरले शंखमुलस्थित नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू हटाएको थियो ।
महानगरले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै त्यस्ता अवैध संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा उपलब्ध गराएको थियो । सहरको सौन्दर्यीकरण कायम गर्न, फुटपाथ व्यवस्थापन गर्न र सार्वजनिक सम्पतीको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको महानगरले जनाएको छ ।


