काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु सिरिजमा नेपालले यूएईमाथि ६ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।
यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाए भने हर्पित सिंहले ४१ रन बनाए । आर्यशं शर्माले ३३, अदीब उसमानी १४, मोहम्मद जुहैब १ र कप्तान मोहम्मद वासिम ० रनमा आउट भए । खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाउँदा अक्षदीप नाथ ३२ बलमा २६ रनमा अविजित रहे ।
बलिङमा नेपालका सन्दीप लाछिमानेले ३ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले २/२ तथा नन्दन यादवले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक बनाए । दीपेन्द्रले ९४ बलमा १०० रन बनाए । उनले १३ चौका र १ छक्का प्रहार गरे । यस्तै विनोद भण्डारीले अर्धशतक बनाए । उनले ७९ रनमा ५६ रन बनाए ।
गुल्सन झाले ४४, ओपनर अर्जुन कुमालले ११, कप्तान रोहित पौडेलले ३९ बनाउँदा भीम सार्की ० मा आउट भए । आरिफ शेख ११ रनमा आउट भए भने सोमपाल कामी ० रनमा अविजित रहे । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ तथा हैदर अली र खैजइमा विन तन्विरले १/१ विकेट लिए । नेपालले अब आफ्नो चौथो खेल मंगलबार ओमानसँग खेल्नेछ ।


