काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काइएको घटनाले स्थानीयस्तरमा विवाद उत्पन्न गरेको छ ।
बस्तीबीच अवस्थित उक्त गुम्बा भत्काउँदा स्थानीयले आपत्ति जनाएका छन् । गुम्बा व्यवस्थापन पक्षले बुद्ध जयन्तीका दिन संरचना नहटाउन आग्रह गरे पनि त्यसलाई बेवास्ता गरिएको दाबी गरेको छ । गुम्बाका अध्यक्ष कपुरे तामाङले बुद्धको मूर्ति क्षतिग्रस्त अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गरेका छन् । उनका अनुसार गुम्बा २०७८ साल कात्तिक १३ गते औपचारिक रूपमा दर्ता गरिएको थियो ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रममा गुम्बा समेत भत्काएको जनाएको छ । डोजर चलाउनुअघि गुम्बाभित्र रहेका बुद्धमूर्ति तथा अन्य सामग्री सुरक्षित रूपमा बाहिर निकालिएको महानगर स्रोतले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि सूचना जारी गर्दै निर्धारित समयभित्र बस्ती खाली गर्न आग्रह गरेको थियो । सो सूचनापछि केही बासिन्दाले आफैं संरचना हटाउन थालेका थिए भने बाँकी स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर परिचालन गरिएको छ ।


