काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको छ ।
बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने भएकाले कानूनविपरीत गतिविधि नगर्न मन्त्रालयले अनुरोध गरेको हो ।
पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल परिसरमा प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटो–भिडियो खिच्ने, अनावश्यक भिडभाड गर्ने तथा उपचार प्रक्रियामा अवरोध पुर्याउने गुनासो बढेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने र अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो बनाउने, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य प्रचलित कानुनको उल्लंघन भएको स्पष्ट पारेको छ ।
मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र सम्बन्धित निकायको स्वीकृति बिना फोटो-भिडियो नखिच्न र प्रकाशन-प्रसारण नगर्न सबैलाई अनुरोध गरेको छ । यसका साथै कानूनविपरीत यस्ता गतिविधि गरेमा कडा कारबाही हुने चेतावनी दिइएको छ ।


