नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गर्दै यही वैशाख १८ बिहान ७ बजेबाट एकै पटक खाली गराउने काम सुरु हुने जनाएको छ ।

प्रशासनका अनुसार काठमाडौं जिल्लाभित्रका विभिन्न स्थानीय तहमा नदी किनार, सरकारी तथा सार्वजनिक जग्गा मात्रै नभई निजी स्वामित्वका जमिनसमेत अतिक्रमण गरेर वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरूलाई हटाउने निर्णय गरिएको हो । यस्तो कदम मानवीय उद्धार, बाढी तथा अन्य विपद्को जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर चालिएको प्रशासनको भनाइ छ ।

यसअघि पनि राजधानीका थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका बस्तीहरू खाली गराइसकिएको थियो । अब भने बाँकी क्षेत्रहरूमा समेत व्यापक रूपमा अभियान सञ्चालन हुने भएको छ ।

प्रशासनले प्रभावित बासिन्दालाई पूर्वतयारीका लागि विशेष निर्देशनसमेत दिएको छ । जोखिमयुक्त स्थानमा बनेका घरटहरा तत्काल खाली गर्न, परिवारका बिरामी, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा बालबालिकालाई प्राथमिकतामा राखी सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ ।

उद्धार आवश्यक परे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोग लिन सकिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । आवश्यक परे एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिने बताइएको छ ।

1-suchana-cdo-1777469889.jpg
2-suchana-cdo-1777469903.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update