काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका लागि नयाँ भाडादर बुधबारदेखि लागू गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक तथा तराई क्षेत्रमा चल्ने मालवाहक सवारीसाधनको भाडा समान रूपमा ५–५ प्रतिशतले बढाइएको छ ।
यसअघि पनि गत चैत २५ गते भाडा समायोजन गरिएको थियो। पछिल्लो वृद्धि भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १२ वैशाखमा प्राप्त सहमतिअनुसार लागू गरिएको विभागले जनाएको छ ।
हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको छ, जसका कारण भाडा समायोजन आवश्यक भएको विभागको भनाइ छ ।
यद्यपि, विद्युतीय सवारीसाधनमा भने भाडा वृद्धि गर्न नपाइने स्पष्ट पारिएको छ । यदि यस्तो सवारीले भाडा बढाएको पाइएमा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ ।


