नेपाल न्युज प्वाइन्ट डटकम
ह्वाइट हाउस गोली प्रकरण : पक्राउ परेका व्यक्ति शिक्षक तथा गेम डेभलपर रहेको खुलासा

काठमाडौँ : शनिबार राति ह्वाइट हाउस संवाददाता डिनर कार्यक्रम नजिक गोली चलाएको आशंकामा नियन्त्रणमा लिइएका व्यक्तिको पहिचान सार्वजनिक अभिलेखमार्फत खुलेको छ । ती व्यक्ति दक्षिणी क्यालिफोर्नियामा बसोबास गर्ने शिक्षक तथा भिडियो गेम विकासकर्ताका रूपमा चिनिएका छन् ।

३१ वर्षीय कोल टोमस एलेन लस एन्जलस नजिकको टोरेन्स क्षेत्रमा बस्ने व्यक्ति रहेको जनाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उच्च अधिकारीहरू सहभागी कार्यक्रममा सुरक्षा सतर्कताका बीच सशस्त्र अवस्थामै उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

उपलब्ध विवरणअनुसार एलेन परीक्षा तयारी तथा ट्युटरिङ सेवा प्रदान गर्ने सी-टु एजुकेसन कम्पनीमा अंशकालीन शिक्षकका रूपमा कार्यरत थिए। कम्पनीले डिसेम्बर २०२४ मा उनलाई ‘टिचर अफ द मन्थ’ सम्मान प्रदान गरेको उल्लेख छ ।

शैक्षिक पृष्ठभूमिअनुसार उनले सन् २०१७ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङ विषयमा स्नातक गरेका थिए । त्यसपछि गत वर्ष क्यालिफोर्निया स्टेट युनिभर्सिटी-डोमिंगेज हिल्सबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए । अध्ययनका क्रममा उनले ह्वीलचेयरका लागि आपत्कालीन ब्रेक प्रणालीको नमुना विकास गरेको विवरण पनि सार्वजनिक भएको छ ।

संघीय निर्वाचन आयोगको अभिलेखमा एलेनले अक्टोबर २०२४ मा कमला ह्यारिसको राष्ट्रपतीय अभियानलाई २५ अमेरिकी डलर सहयोग गरेको देखिन्छ ।

यसका साथै उनले आफूलाई स्वतन्त्र भिडियो गेम निर्माता पनि बताएका छन् । ‘बोहरडम’ नामक खेल उनले स्टिम गेमिङ प्लेटफर्ममा १.९९ अमेरिकी डलर मूल्यमा उपलब्ध गराएका थिए । उक्त नाम सन् २०१८ मा संघीय ट्रेडमार्कका रूपमा दर्ता गरिएको जनाइएको छ ।

एलेनले ‘फर्स्ट ल’ अस्थायी नाम दिइएको अर्को खेल विकासको चरणमा रहेको विवरणसमेत सार्वजनिक स्रोतमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update