काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको हो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो ।
युएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए भने आर्यंश शर्माले १८, अदीब उसमानी १, मोहम्मद शाहदाद २, अक्षदीप नाथ ३०, कप्तान मोहम्मद वासिम ३४, खुजाइम तनविर १, अजय कुमार २ र निलांश केश्वानी १८ र जुनेक सिद्दिकीले ७ रन बनाए ।
बलिङमा नेपालका करण केसीले ४, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा २०० रनमा समेटिएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ९० बलमा ७५ रन बनाएका थिए । यस्तै ओपनर कुशल भुर्तेलले २४, आसिफ शेखले ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५ र करण केसी २२ रनमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।
बलिङमा यूएईका अजय कुमार र जुनेक सिद्दिकीले समान ३–३ विकेट लिए । खुर्जा तनविरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक/एक विकेट लिए । नेपालले दोस्रो खेल बुधबार ओमनसँग खेल्नेछ ।


