नेपाल न्युज प्वाइन्ट डटकम
थापाथलीपछि गैरीगाउँमा संरचना हटाइँदै, ६८ परिवारको तथ्यांक संकलन

काठमाडौँ : बागमती नदी किनारमा सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान तीव्र पारिएको छ । सोही क्रममा बागमती नदी खण्डअन्तर्गत थापाथली क्षेत्रका बस्ती पूर्ण रूपमा खाली गराइएको छ भने मध्यान्नपछि गैरीगाउँ क्षेत्रमा पनि संरचना हटाउने कार्य अघि बढाइएको छ ।

अतिक्रमित बस्ती हटाउने पूर्वतयारीस्वरूप बिहीबारदेखि माइकिङमार्फत सूचित गरिएको थियो । उक्त सूचनापछि शुक्रबारदेखि केही परिवारले स्वेच्छिक रूपमा घरटहरा खाली गर्न थालेका थिए । शनिबार बिहानसम्म पनि खाली गर्ने क्रम जारी रहेकाले बिहान ६ बजेदेखि तय गरिएको भत्काउने कार्यक्रम केही समयपछि सार्दै स्थानीयलाई आफैँ संरचना हटाउने थप अवसर प्रदान गरिएको थियो। त्यसपछि करिब बिहान ८ बजेदेखि संरचना हटाउने कार्य औपचारिक रूपमा सुरु गरिएको हो ।

थापाथली क्षेत्रका संरचना हटाइसकेपछि सम्बन्धित निकायले मध्यान्नपछि गैरीगाउँ क्षेत्रमा पनि सोही अभियान अघि बढाएको जनाएको छ ।

यस क्रममा विस्थापित भएका घरबारविहीन तथा भूमिहीन व्यक्तिहरूलाई दशरथ रंगशालामा ल्याई तथ्यांक संकलन कार्य भइरहेको छ। साँझ ५:५० बजेसम्म ६८ परिवारको विवरण संकलन भइसकेको छ । तीमध्ये ३४ परिवारलाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा स्थानान्तरण गरिएको छ ।

साथै, तथ्यांक संकलनकै क्रममा १८ जना प्रभावितलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update