काठमाडौं : काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने कार्य शनिबार बिहानदेखि सुरु गरिएको छ। सार्वजनिक जग्गा तथा नदी कोरिडोर अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने सरकारी अभियानअन्तर्गत डोजर परिचालन गरिएको हो।
बिहान करिब ८ बजे घटनास्थल पुगेका डोजरहरू साढे ८ बजेदेखि सक्रिय रूपमा प्रयोगमा ल्याइएका छन्। हाल दुई वटा डोजर परिचालनमा छन्—एउटाले सडक किनारका संरचना भत्काइरहेको छ भने अर्को बस्तीभित्रै प्रवेश गरेर घरटहरा हटाउने काम गरिरहेको छ।
संभावित तनाव र झडपको अवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। यद्यपि, यसपटकको अवस्था विगतको तुलनामा शान्त देखिएको छ। पहिले यस्तै प्रयासका क्रममा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो।
यसपटक भने सुरक्षाकर्मीहरूले सहयोगात्मक भूमिका निर्वाह गरिरहेका छन्। बस्तीमा रहेका मानिसहरूको लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यानलगायत सामग्री सुरक्षित रूपमा सार्न प्रहरी आफैँ खटिएका छन्।
सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न आग्रह गर्दै आएका थिए। बागमती नदी कोरिडोर निर्माण तथा सभ्यता संरक्षणको दीर्घकालीन योजनाअनुसार अतिक्रमित क्षेत्र खाली गराउने कार्य अघि बढाइएको जनाइएको छ।


