काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले हरेक वर्ष बाढीका कारण काठमाडौंका नदीकिनारमा बसोबास गर्दै आएका हजारौं मानिस विस्थापित हुने समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले नदीकिनारका बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्नु आवश्यक भएको बताएका हुन् । सरकार सुकुम्वासी बस्ती व्यवस्थापनको तयारीमा रहेकै बेला उनको यो भनाइ सार्वजनिक भएको हो ।
प्रधानमन्त्री शाहले वर्षेनी आउने बाढीका कारण नदीकिनारका बासिन्दाले ज्यान जोगाउन घर–सामान छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरे । यस्तो अवस्थालाई अब निरन्तरता दिन नहुने भन्दै उनले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
उनले अधिकार र भोटको राजनीतिका कारण समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको संकेत गर्दै अब जोखिमरहित व्यवस्थापन नागरिकको आधारभूत अधिकार भएको बताए ।
त्यस्तै, नदीकिनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणालीमा अवरोध पुग्दा काठमाडौं उपत्यकाको सरसफाइमा समेत असर परेको उनको भनाइ छ । यस्ता बस्तीहरूको व्यवस्थित स्थानान्तरणले ढल व्यवस्थापन सुधार गर्न मद्दत पुग्ने उनले उल्लेख गरेका छन् ।
सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रलगायत नदीकिनारमा रहेका बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।
प्रधानमन्त्री शाहले आफूले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता तथा सरकारका प्राथमिकतामा समेटिएका सुकुम्वासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याए ।
उनका अनुसार देशभर रहेका वास्तविक सुकुम्वासी र अतिक्रमणकारी छुट्याएर वास्तविक पीडितलाई प्रक्रिया पूरा गरी जग्गा उपलब्ध गराउने योजना सरकारले अघि बढाउनेछ ।
सरकारले वर्षौंदेखि कायम सुकुम्वासी समस्याको स्थायी समाधान गर्ने दाबी गर्दै उनले नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन् ।


