काठमाडौं : प्रतिनिधिसभा कार्य सञ्चालनका लागि तयार गरिएको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याल समक्ष बुझाइएको छ । मंगलबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उक्त मस्यौदा सभामुखलाई हस्तान्तरण गरेका हुन् ।
मस्यौदा प्राप्त गरेपछि सभामुख अर्यालले नियमावलीलाई प्रक्रियागत ढंगले अघि बढाएर पारित गरिने स्पष्ट पारे । उनले संविधान, विद्यमान कानुन र स्थापित संसदीय अभ्यासलाई आधार मानेर प्रतिनिधिसभा सञ्चालन गरिने बताए ।
समितिले तयार पारेको मस्यौदामा ३० परिच्छेद, २६३ दफा र ७ अनुसूची समेटिएका छन्। यसलाई अन्तिम रूप दिनुअघि समितिले आन्तरिक छलफल र परामर्शमार्फत सबै विषय टुंग्याएको जनाएको छ ।
यसअघि सिंहदरबारमा बसेको समितिको बैठकले मस्यौदाका सबै बुँदामा सहमति जुटाउँदै प्रतिवेदन तयार गरेको थियो । समितिका सभापति पराजुलीका अनुसार नयाँ नियमावलीमा कार्यपालिका र व्यवस्थापिकाबीच देखिने मतभिन्नता घटाउने तथा सरकारको जवाफदेहितालाई थप प्रभावकारी बनाउने पक्षमा विशेष जोड दिइएको छ ।
अब उक्त मस्यौदा प्रतिनिधिसभामा पेस भई आवश्यक छलफलपछि पारित प्रक्रियामा जानेछ ।


