नेपाल न्युज प्वाइन्ट डटकम
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ । यससँगै कर्मचारीहरूले महिनाभरि कुर्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।

अर्थ मन्त्रालयले गत शुक्रबार महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै नयाँ व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो । यसअघि कर्मचारीहरूलाई तलबभत्ता महिना समाप्त भएपछि मात्र मासिक रूपमा भुक्तानी हुँदै आएको थियो ।

मन्त्रालयका अनुसार कर्मचारीहरूको आर्थिक व्यवस्थापनलाई सहज बनाउन अर्धमासिक भुक्तानी प्रणाली लागू गरिएको हो । अर्थमन्त्रीस्तरीय निर्णयमार्फत लागू गरिएको यो व्यवस्थाअनुसार अब प्रत्येक १५ दिनमा कर्मचारीहरूले तलब र भत्ता पाउनेछन् ।

अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहालले हस्ताक्षर गरेको पत्रमा हालसम्म मासिक रूपमा हुँदै आएको तलब वितरण प्रणालीलाई परिमार्जन गरी अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । 

अब महालेखा नियन्त्रक कार्यालयले यस प्रणाली कार्यान्वयनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाउनेछ । नयाँ व्यवस्था लागू भएसँगै नेपालको निजामती सेवामा तलब वितरणको अभ्यासमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update