काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली टोली घोषणा गरेको छ ।
युएईविरुद्ध हुने दुई खेलको टी–२० आई सिरिजका लागि दीपेन्द्रसिंह ऐरीलाई कप्तान बनाइएको छ । यस टोलीमा कुशल मल्ल र अर्जुन साउदको पुनरागमन भएको छ भने सन्तोष यादव र हेमन्त धामीले पहिलो पटक स्थान बनाएका छन् । नियमित एकदिवसीय कप्तान रोहितकुमार पौडेल भने टी–२० टोलीमा समावेश छैनन् ।
त्रिवि क्रिकेट मैदानमा वैशाख ६ र ७ गते हुने टी–२० आई सिरिजका दुवै खेल फल्डलाइटमा खेलाइनेछ । खेल साँझ ५ बजेपछि सुरु हुने । उक्त सिरिजलाई नेपालले लिग–२ अघि तयारीका रूपमा लिएको छ ।
टी–२० आई टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सुन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शहाब आलम र शेर मल्ल रहेका छन्। रिजर्भमा प्रतिश जीसी, नारायण जोशी र राशिद खान छन् ।
यसैबीच, आइसिसी मेन्स क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ ।
लिग–२ टोलीमा युवा ब्याटर अर्जुन कुमालले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी टोलीमा परेका हुन् । त्यस्तै, विनोद भण्डारी तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् ।
लिग–२ खेल्ने टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् । रिजर्भमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशन पाण्डे र देव खनाल छन् ।
नेपालले लिग–२ अन्तर्गत घरेलु मैदानमा दुई वटा त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ । पहिलो सिरिजमा नेपाल, ओमान र युएईबीच वैशाख १२ देखि २२ गतेसम्म प्रतिस्पर्धा हुनेछ । त्यसपछि वैशाख २९ देखि जेठ ८ गतेसम्म नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अर्को सिरिज सञ्चालन हुनेछ ।
लिग–२ को अंक तालिकामा हाल नेपाल सातौं स्थानमा छ । २० खेलबाट १२ अंक जोडेको नेपालले ५ जित, १३ हार र २ खेल नतिजाविहीन खेलेको छ । शीर्ष स्थानमा रहेका अमेरिका र दोस्रो स्थानमा रहेको स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा हुने प्रतिस्पर्धा नेपालका लागि विश्वकप छनोट यात्राको दृष्टिले निकै महत्वपूर्ण मानिएको छ ।
घरेलु समर्थन र परिस्थितिको फाइदा उठाउँदै नेपालले सशक्त प्रदर्शन गर्न सके छनोटको सम्भावना बलियो बन्नेछ, अन्यथा यात्रा थप जटिल बन्नेछ ।


