नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगका अनुसार तिवारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धान क्रममा २०४४ भदौ १९ देखि २०७८ वैशाख ९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको जनाइएको छ ।

सो अवधिमा तिवारी र उनको एकाघर परिवारले विभिन्न वैध स्रोतबाट जम्मा करिब १४ करोड ५१ लाख ९१ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिएको छ । तर सोही अवधिमा घरजग्गा खरिद, निर्माण, लगानी, सामाजिक खर्च, बीमा, शेयर खरिद, विवाहलगायत शीर्षकमा करिब २५ करोड ६ लाख ८७ हजार रुपैयाँभन्दा बढी खर्च तथा लगानी भएको भेटिएको आयोगले जनाएको छ ।

यसरी आयभन्दा खर्च र लगानी करिब १० करोड ५४ लाख ९५ हजार रुपैयाँले बढी देखिएकाले उक्त रकमको स्रोत पुष्टि हुन नसकेको निष्कर्ष आयोगले निकालेको छ । आयोगका अनुसार यो रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update