काठमाडौं : सभामुख डोलप्रसाद (डिपी) अर्यालको गाडीसहित तीन वटा गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
थापाथली क्षेत्रको सडकमा लेन मिचेर ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उक्त सवारीहरूलाई चिट काटिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ । सभामुखको सवारीसँगै अगुवा र पछुवा गरी चलिरहेका अन्य दुई गाडीलाई पनि एउटै कसुरमा कारबाही गरिएको हो ।
स्रोतका अनुसार लेन क्रस गरेर अघि बढेका ती सवारीहरू सिंहदरबारसम्म पुगेपछि ट्राफिक प्रहरीले त्यहीँ पुगेर कारबाही प्रक्रिया अघि बढाएको थियो । सिंहदरबार परिसरमै तीनवटै गाडीलाई चिट काटिएको हो ।
ट्राफिक प्रहरीका एक अधिकारीले “नियम उल्लंघन गर्ने जोसुकै भए पनि कारबाहीबाट उन्मुक्ति नपाउने” भन्दै सवारीको हैसियतभन्दा पनि नियम पालना प्रमुख विषय भएको बताए ।
उक्त गाडीमा सभामुख अर्याल स्वयं सवार थिए वा थिएनन् भन्ने विषयमा भने प्रहरीले कुनै स्पष्ट जानकारी दिएको छैन ।


