काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै पछिल्लो समय देश विभिन्न राजनीतिक प्रयोगको थलो बनेको टिप्पणी गरेका छन् ।
सोमबार जारी सन्देशमा उनले विगतका वर्षहरूमा अपेक्षित विकास हुन नसकेको भन्दै नेपाल क्रमशः पछाडि धकेलिँदै गएको आम जनमानसको अनुभूति रहेको उल्लेख गरेका छन् । राजनीतिक प्रणाली, राज्य संरचना र शासन पद्धतिमा बारम्बार परिवर्तन गरिए पनि त्यसले सार्थक उपलब्धि दिन नसकेको उनको भनाइ छ ।
शाहले “सधैं प्रयोग, अभ्यास र विकल्पको खोजीमै सीमित हुँदा देश प्रयोगशाला जस्तो बनेको” उल्लेख गर्दै दलीय खिचातानीका कारण राष्ट्रको समग्र प्रगति ओझेलमा परेको टिप्पणी गरेका छन् ।
उनले विगतका कमजोरी र त्रुटिहरू सच्याउँदै स्थिरता, निरन्तरता र दृढताका साथ देशलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । साथै, राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो सहभागिता सकारात्मक भएको उल्लेख गर्दै शिक्षित, प्रविधिमैत्री र देश बुझेका युवाहरूको सक्रियताले राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले मुलुक अहिले बहुआयामिक समस्यामा रहेको जनाउँदै आर्थिक अवस्था सुधार, छिमेकी तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढीकरण र आन्तरिक सुरक्षा सुदृढ बनाउनु अत्यावश्यक रहेको बताएका छन् । नागरिकले भोगिरहेको असुरक्षा, अभाव र त्रास अन्त्य गर्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
उनले परनिर्भरता घटाउँदै आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै देशका स्रोत–साधनको उचित उपयोग र संस्कृति तथा मौलिक पहिचानको संरक्षणमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्नुपर्ने धारणा राखेका छन् ।
सन्देशमा उनले निषेध, फुट, द्वन्द्व र विद्रोहले राष्ट्रलाई कमजोर बनाउने उल्लेख गर्दै संवाद, सहमति र सहकार्यमार्फत सबै पक्षका माग सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न आह्वान गरेका छन् ।


