नेपाल न्युज प्वाइन्ट डटकम
भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा तालाबन्दी, धमलाको रिपोर्टर्स क्लबमा पनि ताला

काठमाडौं : काठमाडौंस्थित भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा नतिर्ने सटरहरूमा समाज कल्याण परिषद्ले तालाबन्दी गरेको छ । परिषद् अन्तर्गत भाडामा सञ्चालन हुँदै आएका पसल तथा कार्यालयमध्ये बक्यौता नतिर्ने २० सटरमा सोमबार ताला लगाइएको हो ।

परिषद्का अनुसार कुल ५६ सटरमध्ये लामो समयदेखि भाडा नतिर्नेहरूलाई लक्षित गर्दै पहिलो चरणमा २० सटरमा कारबाही गरिएको हो । परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा उक्त सटरहरूमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दीमा पर्नेमा सञ्चारकर्मी ऋषि धमला नेतृत्वमा सञ्चालित रिपोर्टर्स क्लब नेपाल पनि परेको छ । परिषद्का अनुसार क्लबले करिब ७५ लाख रुपैयाँ भाडा बक्यौता बुझाउन बाँकी रहेको छ ।

परिषद्ले रिपोर्टर्स क्लबसहित विभिन्न संघसंस्था, कार्यालय तथा पुस्तकालयमा समेत तालाबन्दी गरेको जनाएको छ । लामो समयदेखि भाडा नतिरी सटर प्रयोग गर्दै आएका कारण बाध्य भएर यस्तो कदम चाल्नुपरेको परिषद्को भनाइ छ ।

यसअघि पटक–पटक सार्वजनिक सूचना जारी गर्दै बक्यौता बुझाउन आग्रह गरिए पनि अटेर गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको परिषद्ले स्पष्ट पारेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको निर्देशनमा तालाबन्दी गरिएको बताइएको छ । परिषद्ले तालाबन्दीमा परेका सबैलाई सात दिनभित्र बक्यौता रकम बुझाउन अन्तिम समयसीमा दिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update