नेपाल न्युज प्वाइन्ट डटकम
अलपत्र रौतहट–सर्लाही बागमती पुल निर्माणमा तीव्रता दिन निर्देशन, स्थलगत अनुगमनपछि गति लिने संकेत

रौतहट : रौतहट र सर्लाही जिल्लालाई जोड्ने बागमती नदीस्थित बडहर्वा घाटको पुल निर्माण परियोजना लामो समयदेखि अलपत्र रहँदै आएको अवस्थामा अब गति लिने संकेत देखिएको छ। सर्लाही क्षेत्र नं. ४ का सांसद अमरेश कुमार सिंह ले सोमबार स्थलगत अनुगमन गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

स्थलगत निरीक्षणका क्रममा सांसद सिंहले पुल निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै ठेकेदार कम्पनीलाई समयसीमाभित्र काम सम्पन्न गर्न कडा चेतावनी दिएका छन्। उनले अब कुनै पनि बहानामा ढिलाइ नगरी निर्धारित समयमै निर्माण पूरा गर्नुपर्ने स्पष्ट निर्देशन दिएको बताइएको छ।

उनले निर्माण कार्यमा अवरोध नआओस् भन्ने उद्देश्यले सम्बन्धित सरकारी निकाय, स्थानीय तह र सरोकारवाला सबै पक्षलाई समन्वय र सहकार्य गर्न आग्रह गरेका छन्। सरकारको प्रतिबद्धताअनुसार परियोजनालाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गरी दुई जिल्लाबीच सहज आवतजावत सुनिश्चित गर्ने लक्ष्य रहेको पनि उनले उल्लेख गरेका छन्।

यस परियोजनालाई उच्च प्राथमिकतामा राख्दै प्रधानमन्त्रीस्तरबाट समेत आवश्यक निर्देशन दिइएको जनाइएको छ। उच्च तहबाट चासो देखिएसँगै निर्माण कार्य प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

वर्षौंदेखि अधुरो रहेको पुल अब छिट्टै सम्पन्न हुनेमा स्थानीयवासी आशावादी देखिएका छन्। पुल निर्माण पूरा भएपछि रौतहट र सर्लाहीबीच आवतजावत सहज हुनुका साथै व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

स्थानीयले लामो समयदेखिको प्रतीक्षा अन्त्यतिर पुगेको महसुस गर्दै निर्माण कार्यलाई शीघ्रता दिन सरकार र निर्माण कम्पनी दुवै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update