काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन, चाँदी तथा हिरासहितका गरगहना रहेको उल्लेख गरिएको छ । उक्त गरगहनाको स्रोत ‘पैत्रिक’ रहेको विवरणमा जनाइएको छ ।
विवरणमा उनका पारिवारिक सम्पत्तिहरू पनि समावेश गरिएको छ ।
सम्पत्ति विवरणअनुसार शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं महानगरपालिका–९ मा ५ आना जग्गा रहेको छ भने धनुषा जिल्लामा १ दशमलव २ बिघा जमिन रहेको उल्लेख छ । त्यस्तै, उनका बुवा रामनारायण शाहको नाममा महोत्तरी जिल्लामा ९ बिघा जग्गा रहेको विवरणमा देखाइएको छ ।
शाहले आफ्ना व्यक्तिगत सम्पत्तिमा बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ बचत रहेको खुलाएका छन् । साथै, आफ्नो आम्दानीको प्रमुख स्रोत सामाजिक सञ्जाल प्लेटफर्महरू फेसबुक, युट्युब र स्पोटिफाइबाट हुने उल्लेख गरेका छन् ।
यसका अतिरिक्त, उनले आफ्नो सम्पत्ति विवरणमा फेसबुक, युट्युब तथा ट्वीटर (एक्स) मा रहेका फलोअर संख्यालाई समेत समावेश गरेका छन्, जसलाई आफ्नो डिजिटल प्रभाव र आम्दानीसँग जोडिएको स्रोतका रूपमा प्रस्तुत गरिएको छ ।



