काठमाडौं : युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका रोशन पोखरेल आइतबार रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई आफन्तको जिम्मा जमानीमा छोडिएको हो ।
प्रहरीका अनुसार पोखरेललाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा हजुरआमाको जिम्मा लगाइएको हो । पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्णले अनुसन्धान प्रक्रियालाई निरन्तरता दिँदै उनलाई हालका लागि रिहा गरिएको जानकारी दिए ।
फाल्गुनन्द गाउँपालिका–७ निवासी पोखरेललाई केही दिनअघि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालत पाँचथरले उनलाई पक्राउ परेकै दिन १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।
पोखरेलले ‘हेड्स’ नामक युट्युब च्यानलमार्फत करिब दुई महिना अघि सार्वजनिक गरेको भिडियोमा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, केपी शर्मा ओली तथा पुष्पकमल दाहाल लगायतका नेतामाथि अपशब्द प्रयोग गरिएको आरोप छ । उक्त सामग्री युट्युबसँगै फेसबुक र इन्स्टाग्राममा समेत प्रसारण गरिएको प्रहरीले जनाएको छ ।



