काठमाडौं : सामाजिक सञ्जालमा दिएको विवादास्पद अभिव्यक्तिका कारण राष्ट्रिय टोलीका फास्ट बलर करण केसी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै सो खेलको सम्पूर्ण म्याच शुल्क कटौती गर्ने निर्णय गरेको हो ।
क्यानका अनुसार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरू चलिरहेका बेला केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा खेल भावना विपरीत देखिएको निष्कर्ष निकालिएको छ । सोही आधारमा म्याच रेफ्रीको प्रतिवेदन तथा प्राविधिक समितिसँगको छलफलपछि अनुशासनात्मक कदम चालिएको जनाइएको छ ।
प्रतिबन्धका कारण केसी आइतबार भएको नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेलमा सहभागी हुन पाएनन् । उनी नेपाल पुलिस क्लबबाट प्रतियोगितामा खेल्दै आएका थिए । यससँगै सो खेलको म्याच फीसमेत जरिवाना स्वरूप काटिएको छ ।
घटनाको सुरुवात केसीले फेसबुकमा लेखेको एक स्टाटसबाट भएको थियो, जसमा उनले अम्पायरसम्बन्धी प्रश्न उठाउँदै ‘यदि कुनै खेलाडीले अम्पायरलाई कुटेमा कति खेल प्रतिबन्ध हुन्छ ?’ भन्ने आशय व्यक्त गरेका थिए । उक्त अभिव्यक्ति सार्वजनिक भएलगत्तै नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघले आपत्ति जनाउँदै क्यानसँग कडा कारबाहीको माग गरेको थियो ।
यस विषयलाई क्यानले पनि गम्भीर रूपमा लिएको जनाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आचारसंहिता, क्यानसँगको खेलाडी सम्झौता तथा प्रतियोगिताको निर्देशिकाभित्र रहेर निर्णय गरिएको हो ।
यद्यपि, विवाद बढेपछि केसीले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । उनले उक्त अभिव्यक्तिलाई ‘मजाकका रूपमा राखिएको जिज्ञासा’ भएको उल्लेख गर्दै त्यसबाट कसैलाई चोट पुगेको भए माफी मागेका छन् । तर अम्पायर्स संघका अध्यक्ष मोहम्मद सफिकले भने यो विषय गम्भीर भएकाले क्षमायाचनाले मात्र नपुग्ने धारणा राखेका छन् ।


