काठमाडौंः सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलहरुमा कुनैपनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्टयाएको छ । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुरा प्रष्ट्याएका हुन् ।
उनले सो क्षेत्रका तनावका कारण स्वदेश फर्कन चाहने नेपालीहरुका लागि सरकारले हवाई उडानको पनि आवश्यक व्यवस्था मिलाएको बताए । परराष्ट्र मन्त्रालयकाअनुसार सो क्षेत्रबाट स्वदेश फर्कन चाहनेहरु कहीँ कतै पनि अप्ठयारोमा रहेका छैनन् ।
नेपाल आउन चाहने कुनैपनि नेपालीलाई नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स लगायतबाट स्वदेश फर्काउने काम भइरहेकाले त्यस्ता खालका कुनै समस्या भएपनि त्यो छिट्टै समाधान हुने परराष्ट्र मन्त्रालयको दाबी छ । मन्त्रालयकाअनुसार स्वदेश फर्कन चाहने नेपालीहरुको हवाई उडानको समस्या समाधान गर्न सरकारले विशेष पहल गरिरहेको छ ।



