नेपाल न्युज प्वाइन्ट डटकम
पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु

काठमाडौँ : फोन डायल गर्दा सामान्य त्रुटिबाट सुरु विवादले दाजुभाइको ज्यान लिएको छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको हो । 

मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ छन् । चैत २५ को साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । उपचारको क्रममा बिएण्डबी अस्पतालमा उनीहरूको मृत्यु भयो  । दुईपक्षको बिचमा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो । 

प्रहरीका अनुसार दाजुभाइले डायल गरेको नम्बर गलत भएर सञ्जीव नेपालीको मोबाइलमा पुग्छ । उनीहरूले सञ्जीवलाई फोन गरेका हुँदैनन् । यही विषयमा सामान्य विवाद हुँदा घटनाले ठुलो रूप लिन पुग्छ । विषय मिलाउन र माफी माग्न दाजुभाइ घटनास्थल पुगेका थिए । तर, उनीहरूले कुरा राख्न नपाउँदै त्यहाँ नजिकै मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले अचानक सृजनमाथि चक्कु प्रहार गरेका थिए । भाइमाथि हमला भएपछि छुट्याउन गएका सुमितमाथि पनि आक्रमण हुँदा दुबै गम्भीर घाइते भएका थिए ।

घटनाको खबर पाएलगत्तै सातदोबाटो र पुल्चोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । छुरा प्रहारमा संलग्न नेपाली र नवलपरासी गैँडाकोट घर भएर ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update