नेपाल न्युज प्वाइन्ट डटकम
हाजिरी जमानीमा छुटे ओली र लेखक

काठमाडौँ : प्रहरीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परिवारको जिम्मा लगाएर छाडेको छ ।

उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई अनुसन्धानका बखत खोजेमा हाजिरी हुने सर्तमा जिम्मा जमानी राखी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

त्यसलगत्तै ओलीकी पत्नी राधिका गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दिएकी थिइन् ।

त्यस्तै पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको हो । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् । 

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update