नेपाल न्युज प्वाइन्ट डटकम
इरानलाई ट्रम्पको चेतावनी- आज राति एउटा सभ्यताको अन्त्य हुनेछ

एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई सिधै चेतावनी दिँदै मंगलबार राति 'एउटा पूरै सभ्यताको अन्त्य हुन लागेको' बताएका छन् । ट्रम्पले इरानलाई सम्झौताका लागि वासिङ्टन समय अनुसार मंगलबार राति ८ बजेसम्मको अन्तिम समय सीमा (डेडलाइन) दिएका छन् ।

आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, 'एउटा पूरै सभ्यताको आज राति समाप्त हुनेछ र त्यो फेरि कहिल्यै फर्किएर आउने छैन । म यस्तो होस् भन्ने चाहन्न तर सायद यस्तो हुन सक्छ ।' उनले ४७ वर्षदेखिको जबरजस्ती असुली, भ्रष्टाचार र मृत्युको युग अब समाप्त हुने दाबी गर्दै यसलाई इतिहासकै सबैभन्दा महत्त्वपूर्ण क्षणमध्येको एक बताएका छन् ।

ट्रम्पको सम्झौताको मुख्य सर्त इरानले 'स्ट्रेट अफ हर्मोज' खोल्नुपर्ने रहेको छ, जहाँबाट विश्वभरको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओसारपसार हुने गर्दछ । ट्रम्पले इरानलाई एकै रातमा समाप्त गर्न सकिने चेतावनी दिँदै यदि तोकिएको समयभित्र सम्झौता नभएमा कारबाही सुरु हुने संकेत दिएका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि अब 'बल इरानको कोर्टमा' रहेको बताएका छन् । उनले इरानबाट सकारात्मक वा नकारात्मक जस्तो सुकै जवाफ आए पनि निर्धारित समयसम्ममा प्राप्त हुने र आफूहरू तेल र ग्यासको सहज आपूर्ति हुने संसारको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

इरानले ट्रम्पको पछिल्लो 'सभ्यताको अन्त्य' सम्बन्धी बयानमा सिधै कुनै प्रतिक्रिया दिएको छैन । तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक नयाँ विज्ञप्ति जारी गर्दै अहिलेसम्म आफूहरूले 'काफी संयम' देखाएको उल्लेख गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update