काठमाडौं : सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनकाअनुसार सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ ।
सरकारले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको उनले बताए ।
सरकारले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको छ । डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।
सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको सरकारका प्रवक्ता पोखरेलले बताए ।



