काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक प्रारम्भिक प्रक्रिया अगाडि बढाइसकिएको बताएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित पूर्वबजेट अन्तरक्रियामा बोल्दै उनले वर्तमान सरकारले आर्थिक सुधारका कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयन गरिरहेको उल्लेख गरे । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशन अनुसार सुधारका पहलहरूलाई गति दिइएको उनको भनाइ थियो ।
मन्त्री वाग्लेले पदभार सम्हालेपछि उद्योगी तथा व्यवसायीलाई सकारात्मक संकेत दिने उद्देश्यले विभिन्न नीतिगत कदमहरू अघि बढाइएको बताए । उनले पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा तयार भएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनका सिफारिसहरूलाई पनि कार्यान्वयनतर्फ लैजाने प्रयास भइरहेको जानकारी दिए ।
उनका अनुसार, राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा असान्दर्भिक ठहरिएका करिब १५ वटा पुराना ऐनहरू हटाउने निर्णयसमेत गरिएको छ ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उद्योगमैत्री वातावरण अभावका कारण निजी क्षेत्र प्रभावित भएको उल्लेख गर्दै ऊर्जा आपूर्तिलाई नियमित र भरपर्दो बनाउन सरकारसँग माग राखेका छन् ।



