काठमाडौँ : पश्चिम एसियाका विभिन्न मुलुकमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ११ नेपाली नागरिक पक्राउ परेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, पक्राउ पर्नेमा युनाइटेड अरब इमिरेट्समा ३, साउदी अरेबियामा ४, कतारमा ३ र ओमानमा १ नेपाली रहेका छन् ।
मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए अनुसार उनीहरूलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण फोटो, भिडियो वा सन्देश साझा गरेको आधारमा नियन्त्रणमा लिइएको हो ।
इरान-इजरायल-अमेरिका बीचको संघर्षको सन्दर्भमा खाडी क्षेत्रका मुलुकहरूले सामाजिक सञ्जालमा गलत सूचना फैलाउने कार्यमा कडाइ गर्दै आएका छन् । पक्राउ परेकाहरूले पोस्ट गरेको सामग्रीले देशको सुरक्षा र जनतालाई भ्रममा पार्ने खतरा रहेको बताइएको छ ।
प्रवक्ता क्षेत्रीको भनाइ अनुसार, पक्राउ परेका नेपालीको हकमा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास वा नियोगहरूले आवश्यक जानकारी संकलन गरी सहजीकरण गरिरहेका छन् । उनीहरूमाथि लाग्ने चार्ज र सम्भावित जरिवानासम्बन्धी विवरण बुझ्ने काम जारी रहेको छ ।



