नेपाल न्युज प्वाइन्ट डटकम
एसईईका नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौँडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बिक अर्काको नाममा जारी गरिएको प्रवेश पत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए । उनी हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको बताइएको छ ।

बिकले हेटौँडा-१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेश पत्र प्रयोग गरी नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन आएको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update