काठमाडौं : राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते सोमवार हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा निर्वाचनको मिति तोकेका हुन् ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचनका लागि चैत २३ गतेको दिन तय गरेको जानकारी दिए । उनले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन समेत दिएका छन् ।
यस्तै, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ गते मंगलबारको मिति तोकिएको छ ।
नियमावलीको नियम १५० बमोजिम रिक्त सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल चैत्र २२ गते आइतबार अपराह्न १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।



