काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति सार्वजनिक रूपमा माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले सदियौंदेखि हुँदै आएको विभेद, अन्याय र अत्याचारप्रति क्षमायाचना व्यक्त गरेका हुन् ।
सभापति लामिछानेले संसदको रोस्ट्रमबाट हात जोड्दै दलित समुदायसँग माफी मागेका थिए । उनले राज्यकै तर्फबाट पहिलोपटक सदनमार्फत सामूहिक र सार्वजनिक रूपमा माफी मागिएको उल्लेख गरे ।
सम्बोधनका क्रममा उनले दलित समुदायमाथि भएको ऐतिहासिक विभेदलाई केवल सामाजिक समस्या नभई ‘संगठित अपराध’को रूपमा व्याख्या गरे । “यो देशका दलित समुदायसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु। शताब्दीयौँदेखि भएको विभेद, अन्याय र अत्याचारप्रति आज यो सदनबाट सामूहिक माफी मागिएको छ,” उनले भने ।
लामिछानेले विगतका घटनाहरू सम्झँदै समाजमा व्याप्त असमानताको आलोचना गरे । “गल्ती भयो कि भएन भन्ने अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे, तर सदियौँदेखि दलित समुदायमाथि भएको अन्यायका लागि हामीले कहिल्यै माफी मागेनौँ,” उनले भने ।
उनले देश विकासमा अवरोधको रूपमा रहेको जातीय विभेदको अन्त्य आवश्यक रहेको पनि औंल्याए । “जसको हातमा सीप थियो, तिनैलाई हामीले अछूत बनायौं । अब कुनै पनि नेपाली जातका आधारमा झुक्नुपर्ने अवस्था रहने छैन,” उनले बताए ।



