काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया)लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ ।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशनअनुसार सचिव स्तरीय निर्णयबाट देशभरका नापी कार्यालय तथा मालपोत कार्यालयमा परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश गराउन सम्बन्धित विभागले पत्राचार गरेका हुन् ।
पत्रमा कार्यालयहरूमा विभिन्न बहानामा बिचौलियाहरू प्रवेश गरी कार्यालयका महत्त्वपूर्ण कागजात र स्रेस्तामा पहुँच राख्ने गुनासो आएकाले अब परिचय खुल्ने कागजात भएका व्यक्ति मात्रै कार्यालयमा प्रवेश गराउन भनिएको छ ।
मन्त्रालयले कार्यालयका गोप्य र संवेदनशील कागजातहरूमा बिचौलिया तथा अनधिकृत व्यक्तिहरूको अनियन्त्रित पहुँच बढेको भन्दै यस्तो कदम चालेको जनाएको छ ।
निर्देशनमा कार्यालयका विभिन्न फाँटहरूमा हुने भिडभाड र कागजातको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै अनधिकृत व्यक्ति प्रवेशमा रोक नलगाएको खण्डमा कार्यालय प्रमुख जिम्मेवार हुने जनाइएको छ ।
बिचौलियालाई निषेध गरेपछि सेवाग्राहीले भने निवेदन र कागजात देखाएर सहजै सेवा पाउने छन् ।



