रुपन्देहीः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो ।
विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ । ‘हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ’, उनले भने ।
हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध धर्मावलम्बीलाई लक्षित सेवा दिँदै आइएको थियो । पछिल्लो हिउँदे तालिकामा सातामा दुई दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । लुम्बिनी–गयाजस्ता बौद्ध सर्किटलाई जोड्ने उडान विस्तारले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
विमानस्थलको प्रभावकारी उपयोगका लागि ‘फिफ्थ फ्रिडम’ उडान अवधारणा अघि सारिएको विमानस्थलका महाप्रबन्धक साहले उल्लेख गरे। यस व्यवस्थाअनुसार विदेशी वायुसेवा कम्पनीले भैरहवालाई ट्रान्जिट विन्दु बनाउँदै तेस्रो मुलुकसम्म उडान सञ्चालन गर्न सक्नेछन् । उदाहरणका रूपमा कतार एयरवेजजस्ता वायुसेवाले दोहा–भैरहवा–तेस्रो देश र पुनः सोही मार्गमार्फत उडान सञ्चालन गर्न सक्ने सम्भावना रहेको उनले बताए ।
यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक नीतिगत तथा प्राविधिक तयारी अघि बढाइएको जनाएको छ । सरकारी तहबाट शीघ्र आवश्यक निर्णय हुने अपेक्षा रहेको महाप्रबन्धक साहले बताए । ‘अहिले पनि कतार एयरवेजले कतारबाट नभई अन्य मुलुकबाट उडान गरिरहेको छ, हामीले कतार एयरवेजलाई भैरहवाबाट नै ‘फिफ्थ फ्रिडम’ अनुरुप उडान गर्नेगरी तयारी गरिरहेका छौँ । यस विषयमा शीघ्र मन्त्रिपरिषद्ले निर्णय गर्नेमा हामी विश्वस्त छौँ’, उनले भने ।
उडान सङ्ख्या वृद्धि गर्ने अर्को महत्त्वपूर्ण योजनाअन्तर्गत नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवामा ‘बेस’ राख्ने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक साहले जानकारी दिए । यसले यहाँबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई नियमित र भरपर्दो बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाँले अबको केही दिनमा नेपाल एयरलाइन्सले भैरहवालाई बेस बनाएर उडान गर्ने बताए ।
हाल वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको आवागमन सहज बनाउन विभिन्न चार्टर उडान सञ्चालन भइरहेका छन् । कुवेत एयरवेजले कुवेत सिटी–भैरहवा उडानमार्फत नेपालीलाई स्वदेश ल्याइरहेको छ भने साउदी अरबको दमामबाट पनि उडान अनुमति प्रक्रियामा रहेको जानकारी विमानस्थलका महाप्रबन्धक साहले दिए । उनका अनुसार चार्टरसँगै नियमित उडानलाई पनि समान रूपमा प्राथमिकता दिइनेछ । ‘चार्टर र नियमित दुवै उडानलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ, शीघ्र नियमित उडान थप सुदृढ हुनेछ’, उनले भने ।
उक्त पहलले लुम्बिनी केन्द्रित धार्मिक पर्यटन प्रवर्द्धनका साथै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकका लागि सहजता ल्याउने विश्वास गरिएको छ । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सके क्षेत्रीय आर्थिक गतिविधि वृद्धि हुनुका साथै समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने सरोकार भएकाहरूको अपेक्षा छ ।



