काठमाडौँ : विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका थप ८ जना नेपालीको उद्धार गरिएको छ ।
बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए)को समन्वयमा उद्धार गरिएका उनीहरू आज स्वदेश फर्किएका हुन् ।
दूतावासका अनुसार आकर्षक तलबको लोभमा भिजिट भिसामा कम्बोडिया पुगेर बन्धक बन्ने र अनलाइन ठगीमा लाग्न बाध्य हुने नेपालीहरूको संख्या बढ्दो छ। समस्यामा परेकाहरू कैयनलाई नेपाल फर्काइसकिएको छ ।
सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको डरलाग्दो तथ्यांक दूतावासले सार्वजनिक गरेको छ ।
स्क्यामिङ केन्द्रहरूले कामदारको राहदानी जफत गरिदिने गरेको गुनासो बढेपछि दूतावासले अलपत्र नेपालीलाई स्वदेश फर्काउन नि:शुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गर्ने व्यवस्था मिलाएको छ ।
दूतावासले कम्बोडियामा अलपत्र वा भिसा अवधि सकिएर बसेका नेपालीहरूलाई तत्काल राजदूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
नेपाल सरकारले भनेका मापदण्डअनुसार मात्र वैदेशिक रोजगारीका लागि विदेश जानुपर्ने, र प्रलोभनमा परी कम पैसा र छिटो कमाउने लालचमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकमा जान नहुने चेतावनी दिएको छ ।
नेपाली राजदूतावास बैंककले आमसञ्चार माध्यम र नागरिक समाजमार्फत पनि यो सन्देश प्रवाह गरी सहयोग गरिदिन अनुरोध गरेको छ ।



