काठमाडौं : तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिमाथि औपचारिक छानबिन प्रक्रिया सुरु गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाइएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूको चल-अचल सम्पत्ति, आम्दानीका स्रोत तथा वित्तीय कारोबारको विस्तृत अध्ययन थालेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
यसैबीच, नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का आइतबार पक्राउ परेका छन् । सिआइबीका अनुसार उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो र थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ ।
अनुसन्धानको दायरा तीनै पूर्वप्रधानमन्त्रीसँग सम्बन्धित व्यक्ति, परिवारका सदस्य तथा सचिवालयका केही सदस्यसम्म फैलिएको जनाइएको छ। प्रहरीले सम्पत्तिको स्रोत, लेनदेन र वित्तीय पारदर्शितासम्बन्धी पक्षहरूमा केन्द्रित भएर छानबिन गरिरहेको छ ।
यसअघि ‘जेनजी आन्दोलन’का क्रममा केही नेताहरूका घरमा आगजनी हुँदा जलेको अवस्थामा नगद भेटिएको घटनाले अनुसन्धानलाई नयाँ मोड दिएको बताइएको छ। सो घटनासँग सम्बन्धित प्रमाण संकलन गरी केही रकम सुरक्षित राखिएको छ ।
यसै सन्दर्भमा, काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनीपछि भत्काउन लागिएको संरचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा रोक लगाइएको छ । घटनास्थलबाट बरामद जलेका नेपाली तथा विदेशी मुद्रासमेत अनुसन्धानका महत्वपूर्ण आधार बनेका छन् ।


