नेपाल न्युज प्वाइन्ट डटकम
पक्राउ पर्नुअघि ओलीले भनेका थिए, 'यो प्रतिशोधको कानुनी प्रतिवाद गर्छु'

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्राउ प्रतिशोधपूर्ण र गैरकानुनी भएको प्रतिक्रिया दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा भएको मानविय क्षतिको घटनामा संलग्नताको आरोपमा कार्की जाँचबुझ आयोगको सिफारिसभन्दै प्रहरीले शनिबार बिहानै पक्राउ गरेपछि उनले त्यसको कानुनी प्रतिवाद गर्ने बताएका छन् । 

रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार बनेलगत्तै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार राति नै पक्राउको तयारी गरिएको थियो । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले सरकारसँग लिखित आदेश मागेका थिए । 

सरकारको लिखित आदेशपछि प्रहरी पक्राउ पुर्जी लिएर मध्यराति नै ओली निवास गुण्डु पुगेको थियो । बिहान पक्राउ पर्नूअघि उनले बरिष्ठ अधिवक्ताद्वय टिकाराम भट्टराई र रमेश बडाललाई निबासमै बोलाएर परामर्श गरेका थिए । सो क्रममा उनले सरकारको यो कदम राजनीतिक प्रतिशोधबाट प्रेरित भएको टिप्पणी गर्दै भनेका थिए, “यो पक्राउ प्रतिशोधपूर्ण छ। यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस् ।” 

ओलीनिकट कानुनव्यवसायीले पक्राउ प्रारम्भीक रुपमा हेर्दा गैरकानुनी देखिएको बताएका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गर्ने प्रष्ट कानुनी आधारविनै पक्राऊ गरिएकाले प्रथम दृष्टिमै गलत रहेको बरिष्ठ अधिवक्ता भट्टराईले बताए । 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update