नेपाल न्युज प्वाइन्ट डटकम
बाटो निर्माणमा अनियमितता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकी अधिकृत विष्णुबहादुर शाहीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढासहित इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढा, चंखेली-३ का वडाध्यक्ष सालिग्राम एडी, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूले हुम्लाको सुकिचौरै हुँदै चिमाङसम्मको बाटो निर्माण गर्दा भएकोभन्दा बढी कामको मूल्यांकन गराएको, झुटा बिल तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेस गरेको अख्तियारको दाबी छ । उनीहरुविरुद्ध २ लाख २२ हजार रुपैयाँ बिगो मागदाबी गरिएको प्रवक्ता घिमिरेले बताए ।

चंखेली-३ का वडाध्यक्ष ऐडीले निर्माण सम्पन्न नभएको बाटोलाई भयो भनी सिफारिस गरी सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याएको भन्दै अख्तियारले उनीविरुद्ध भने सजायको मात्रै माग गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update