नेपाल न्युज प्वाइन्ट डटकम
राखेपद्वारा एन्फा निलम्बित

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ ।

राखेपको कार्यकारी समितिको मिति २०८२ चैत ११ गतेको निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९(२) बमोजिम एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरिएको हो । उक्त कानुनी व्यवस्थाअनुसार परिषद्को निर्देशन पालना नगर्ने संघलाई अधिकतम तीन महिनासम्म निलम्बन गर्न सकिने प्रावधान छ ।

राखेपले एन्फालाई यसअघि पनि साधारण सभा (अर्डिनरी कंग्रेस) र निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउँदा परिषद्को स्वीकृति लिन, प्रतिनिधि उपलब्ध गराउन तथा कानुनअनुसार कार्य गर्न पटक–पटक पत्राचार गरेको थियो । तर ती निर्देशनहरूको पालना नभएको निष्कर्ष राखेपले निकालेको छ ।

‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (२) बमोजिम तीन महिना सम्मका लागि निलम्बन गर्ने कार्यकारी समितिको मिति २०८२।१२।११ को निर्णयानुसार उल्लिखित समयावधी सम्मका लागि निलम्बन गरिएको’ राखेपले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि राखेपले एन्फालाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको थियो। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको राखेपको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update