काठमाडौं । युरोपमै पहिलोपटक आयोजना हुन लागेको इयू टी–२० लिगमा नेपालका आठ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमार्फत सहभागी हुने भएका छन् । जुन ६ देखि १४ सम्म बेल्जियममा सञ्चालन हुने प्रतियोगिताले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ अवसर दिने अपेक्षा गरिएको छ ।
नेपाली टोलीका कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेसहित कुल आठ खेलाडी लिगका विभिन्न टोलीमा आबद्ध भएका हुन् । दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले ‘प्रि–साइन’ गरेको थियो भने सन्दीपलाई पनि लियेज रेड लायन्सले ‘प्रि–साइन’ गरेको थियो ।
हालै सम्पन्न ड्राफ्टमार्फत रोहित पौडेल घेन्ट ग्लाडियटर्समा परेका छन् । विकेटकिपर आसिफ शेख एन्टवर्प एंकर्समा आबद्ध हुँदा जेबी ब्रुग्सले ललित राजवंशी र इशान पाण्डेलाई ड्राफ्टबाट छनोट गरेको छ । त्यही टोलीले अप्सनल राउन्डमार्फत अनिल साह र गुल्शन झालाई पनि समेट्दै पाँच नेपाली खेलाडी राखेको छ ।
जेबी ब्रुग्स नेपाल प्रिमियर लिग (एनपीएल) विजेता जनकपुर बोल्ट्ससँग सम्बन्धित ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको फ्रेन्चाइज हो । उक्त टोलीमा कलिन मनरो, राशी भान डेर डुसेन, वायन पार्नेल जस्ता अन्तर्राष्ट्रिय स्टार खेलाडीहरू समेत आबद्ध छन् ।
लिगका लागि २२ नेपाली खेलाडीले नाम दर्ता गराए पनि प्रारम्भिक चरणमा आठ जना मात्रै छनोट भएका छन् । ललित राजवंशी, आसिफ शेख र इशान पाण्डेका लागि यो पहिलो विदेशी फ्रेन्चाइज लिग हुनेछ भने रोहित, दीपेन्द्र र सन्दीपले यसअघि नै अन्तर्राष्ट्रिय लिगमा अनुभव बटुलिसकेका छन् ।
६ टोली सहभागी हुने प्रतियोगिता राउन्ड–रोबिन र प्लेअफ ढाँचामा सञ्चालन हुनेछ । क्रिस लिन, सोएब मालिक, फाफ डु प्लेसिस, कोरी एन्डरसन, एन्ड्रे रसेल जस्ता विश्वस्तरीय खेलाडीहरू पनि सहभागी रहने भएकाले प्रतिस्पर्धा उच्चस्तरीय हुने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार प्रत्येक फ्रेन्चाइजलाई करिब १ लाख ८३ हजार पाउन्ड (झन्डै ३ करोड ३० लाख रुपैयाँ) बराबरको तलब बजेट निर्धारण गरिएको छ । खेलाडीहरूको पारिश्रमिक १ हजार ५०० देखि २२ हजार पाउन्डसम्म रहनेछ, यद्यपि नेपाली खेलाडीहरूको सम्झौता रकम भने सार्वजनिक गरिएको छैन ।
एकैपटक यति धेरै नेपाली खेलाडी विदेशी फ्रेन्चाइज लिगमा आबद्ध हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यस लिगले नेपाली खेलाडीलाई युरोपेली मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्ने मात्र होइन, करिअर विकासका लागि समेत महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।



