नेपाल न्युज प्वाइन्ट डटकम
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वपर्यटनमन्त्री भीम आचार्यसँग साढे २ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आचार्यलाई उक्त रकम धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

आचार्यले अदालतमा उपस्थित हुने निवेदन दिएका थिए । त्यसपछि बयान लिइएपछि उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले गत मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा अनियमितता भएको आरोपसहित मुद्दा दायर गरेको थियो । सो मुद्दामा कुल ५५ जना प्रतिवादी बनाइएका छन्, जसमध्ये हालसम्म ४० जना अदालतमा उपस्थित भइसकेका छन् र अधिकांश धरौटीमा रिहा भएका छन् ।

यस प्रकरणमा आचार्यसहित पाँच पूर्वमन्त्रीविरुद्ध मुद्दा दायर गरिएको छ । तीमध्ये रामशरण महत, रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटी रहेका छन् । बोगटीको भने यसअघि नै निधन भइसकेको छ ।

अभियोगपत्रअनुसार २०७० पुस ११ गते मन्त्रिपरिषद्ले ‘अधिकारप्राप्त निकायबाट कानुनबमोजिम निर्णय हुने विषयमा मन्त्रिपरिषद्ले हस्तक्षेप गर्नुपर्ने छैन’ भन्ने निर्णय गरेको थियो । तर उक्त निर्णयलाई आफूअनुकूल व्याख्या गर्दै आचार्यले २०७० चैत २१ गते मन्त्रीको हैसियतमा विमानस्थलको ठेक्का स्वीकृति तथा कार्यान्वयन अघि बढाउन निर्देशन दिएको आरोप छ ।

त्यसैगरी २०७१ जेठ ८ मा चिनियाँ कम्पनीसँग २१ करोड ५९ लाख अमेरिकी डलरमा सम्झौता गर्न अन्तिम स्वीकृति दिएको र त्यसपछि चाइना एक्जिम बैंकबाट सहुलियत ऋण लिन प्रक्रिया अघि बढाउने निर्णय गरेको अभियोग छ ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update