नेपाल न्युज प्वाइन्ट डटकम
कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

कपिलवस्तु : दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगञ्ज क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले एक सूचना प्रकाशित गर्दै महाराजगञ्ज क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकाे जानकारी दिएका हुन् ।

शनिबार बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच विवाद भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालयले दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको हाे ।

पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगन्ज बजार र दिक्षणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

'जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२।१२।०७ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिकाका देहायका क्षेत्रहरुमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ । उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सूचित गरिन्छ', सूचनामा भनिएकाे छ ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update