काठमाडौं : मोरङमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको घटनापछि सरकार सक्रिय बनेको छ । गृह मन्त्रालयले उक्त घटनाले नेपाल–चीन सम्बन्धमा नकारात्मक असर पार्न सक्ने भन्दै विस्तृत छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।
परराष्ट्र मन्त्रालयमार्फत प्राप्त कूटनीतिक पत्रका आधारमा गृह मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ । उक्त पत्र काठमाडौंस्थित चीनको दूतावासबाट आएको थियो, जसमा घटनाप्रति चिन्ता व्यक्त गरिएको उल्लेख छ ।
मोरङस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको विषयमा चीनले औपचारिक रूपमा ध्यानाकर्षण गराएपछि सरकारको चासो बढेको हो ।
गृह मन्त्रालयले सो घटनाको सत्यतथ्य पत्ता लगाउन र संलग्न व्यक्तिलाई कारबाहीका लागि सिफारिस गर्न मोरङका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रहरी प्रशासनलाई समेत निर्देशन दिएको छ ।
सरकारले कूटनीतिक संवेदनशीलतासँग जोडिएको विषय भएकाले अनुसन्धानलाई प्राथमिकतामा राख्न र यस्ता घटनाले द्विपक्षीय सम्बन्धमा असर नपर्ने गरी आवश्यक कदम चाल्न जोड दिएको छ ।



