नेपाल न्युज प्वाइन्ट डटकम
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन भएको छ ।

प्रदर्शनकारी युवाहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’ र ‘जेनजीको आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनीहरुले माइतीघर मण्डलामा आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । भदौ २३ र २४ गते युवाहरू (जेनजी) ले विभिन्न माग राख्दै गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप र झडप भएपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक नहुँदा आम नागरिक र प्रदर्शनकारी युवाहरूमा असन्तुष्टि बढेको छ । प्रदर्शनकारीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर कारबाही र युवाहरूका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update