नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको संघीय संसद् सचिवालयले जनाएको छ । 

नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । “सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौं आउनका लागि करिब १० दिनको समय दिएर संसद् बैठकका लागि सूचना आह्वान गर्छ । यहीबीचमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुहुन्छ र उहाँले अरु सांसदलाई शपथ गराउनुहुन्छ”, उनले भने ।

सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने कानुनी प्रावधान रहेको प्रवक्ता गिरीले जानकारी दिए । “संसद्को पहिलो बैठकले सभामुखको निर्वाचन घोषणा गर्छ, साथै सभामुखको अनुपस्थितिमा भूमिका निर्वाह गर्नका लागि प्रत्येक दलबाट तीन जनाका दरले सांसदको नाम मागेर अनुमोदन गरिन्छ । त्यसपछि बस्ने पहिलो बैठकमा अध्यादेश छन् भने पेस गरिन्छन्”, उनले भने । 

निर्माणाधीन संसद् भवनको निर्माण सम्पन्न भइनसकेकाले अबको प्रतिनिधिसभाको केही समयसम्म अर्काे प्रयोजनका लागि निर्मित हलमा बस्ने तयारी भइरहेको प्रवक्ता गिरीले जानकारी दिए । “प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि निर्माणाधीन भवनको बीचमा रहेको उक्त हलमा बैठक तयारीका लागि आवश्यक प्राविधिक व्यवस्थापन काम भइरहेको छ”, उनले भने ।

सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार संघीय संसद् भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । कोरोना महामारीलगायत विभिन्न कारण देखाउँदै हालसम्म उक्त भवन निर्माण सम्पन्न हुन सकेको छैन ।

एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन आठ वटा हुनेछन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसका चार अतिरिक्त अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः १०० र ३०० जना अट्ने क्षमताका र ३९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update