काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बधाई दिएका छन् ।
सोमबार भएको टेलिफोन संवादमा मोदीले दुवै नेतालाई निर्वाचनमा प्राप्त जीत तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै आगामी दिनमा बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गरेका छन् । उनले यसबारे सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत जानकारी गराएका हुन् ।
मोदीले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउन सकिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिटसहित दुईतिहाइ बहुमत नजिकको सफलता हासिल गर्ने अवस्थामा पुगेको छ । सो निर्वाचनअघि नै रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति गरिसकेको थियो ।
निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम परिणाम आउने क्रम चलिरहँदा मोदीले दुवै नेतासँग संवाद गरेका हुन् । यसअघि पनि उनले फागुन २१ को निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए ।



